श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू–२० मेन्स भलिबल उपाधिका लागि नेपाल शनिबार उज्वेकिस्तानसँग भिड्दैछ । प्रतियोगितामा नेपाल लिग चरणको समाप्तीमा दोस्रो स्थानमा रह्यो भने उज्वेकिस्तान अपराजित रहँदै समूह विजेता बन्न सफल रह्यो ।
नेपाल र तुर्किमिनिस्तानको समान अंक रहे पनि जित अन्तरको आधारमा फाइनल पुग्ने टिमको निर्णय भएको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले तुर्किमिनिस्तानलाई २५–१४, २५–२१ र २५–२० ले पराजित गरेको हो । दुवै समान १० अंकमा रहे । समूह चरणमा नेपालले श्रीलंका र माल्दिभ्सलाई हराएको थियो ।
यस्तै नेपालले उज्वेकिस्तान र किर्गिस्थानसँग हार बेहोरेको थियो । प्रतियोगितामा आयोजक श्रीलंका र नेपालसहित उज्वेकिस्तान, तर्कमिनिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । काभाको मेन्स यू–२० स्तरमा पहिलो पटक प्रतियोगिता आयोजना भएको हो । फाइनल स्थानीय समय अनुसार दिउँसो तीन बजे हुनेछ ।