कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुखले सडकमा पर्ने आफ्नै व्यावसायिक घरमा डोजर(jcb) लगाएका छन् । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले सडकमा पर्ने आफ्नै घरमा डोजर (jcb)लगाएका हुन्। केही वर्षअघि रानाले चवन्नी बजारमा एक व्यावसायिक सटर निर्माण गरेका थिए। उक्त घर नक्साअनुसार सडकमा परेपछि उनले आफ्नै घरमा डोजर लगाएर सडकको जमिन खाली गराएका हुन् ।
बेलडाँडी गाउँपालिका– २ चवन्नी बजारदेखि कालिकिच तालसम्म जोड्ने सडक विस्तारका क्रममा गाउँप्रमुख रानाकै घर सडकका परेको थियो । उनले आफ्नै घर भत्काएर सडक विस्तारको कामकाज थप सहजीकरण गरेका छन्। रानाले व्यक्तिगत स्वार्थभन्दा गाउँको दिगो विकास र समृद्धिका लागि आफूले आफ्नैबाट गल्ती स्वीकार गर्दै सडकमा पर्ने घर हटाएको बताएका छन्। गाउँपालिकाले चवन्नी–कालिकिच सडक विस्तारका क्रममा सडकमा पर्ने संरचना हटाउन दुईपटक सूचना जारी गरेको थियो । कसैले पनि हटाउन नमानेपछि मंगलबारदेखि उनले आफ्नै घरबाट सुरुवात गरेका छन्।
विकासका लागि पूर्वाधार भन्दै सडक विस्तारका लागि सबैले मिलेर सहकार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कानुनी रूपमा नक्साको सडकलाई कुनै व्यक्तिले निजीकरण गर्न सक्दैन, त्यसैले सबैले नक्साको बाटो खोल्ने सहमतिमा आउनुपर्ने उनकाे भनाइ छ ।
चालू आर्थिक वर्षमा संघीय सरकारको एक करोड बजेटमा चवन्नी बजारदेखि कालिकिच प्राकृतिक तालसम्म सडक विस्तारको योजना छ। वर्षौँपछि बजारदेखि पर्यटकीय गन्तव्य जोड्ने कालिकिच तालसम्मै सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन्।