कैलालीको धनगढीमा ४० दिने सीप तथा रोजगार मेला सुरू गरिएको छ ।
बेरोजगार बसेका युवाहरूलाई सीपयुक्त बनाउन र युवा स्वरोजगार बढाउन मेला सञ्चालन गरिएको हो । मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् ।
धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा आयोजना गरिएको मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवा सहभागी हुने आयोजकले बताएको छ । तालिकाको ४० दिने प्याकेज निर्माण गरिएको छ । ३० दिन सीप सिकाउने, ५ दिन अभ्यासमा सहभागी गराउने र बाँकी ५ दिन अवलोकन र परीक्षा दिने तालिका तय गरिएको छ ।
युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको हो । यो मेला नेपालमै काठमाडौं पछि दोस्रो पटक धनगढीमा आयोजना गरिएको हो । युवा उद्यमशीलता बढाउने, सीपयुक्त युवा तयार पार्ने यो प्रकारको तालिम प्रत्येक पालिकाले देशव्यापी रूपमा आयोजना गर्न सुझाव धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताएका छन् ।
तालिमका लागि ९ जिल्लाका ८८ पालिका मध्ये ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएका थिए । पछि ३९ पालिकाका एक हजार ४० जनालाई छनोट गरी मेलामा सहभागी गराइएको छ । ती युवाहरूले बजारको मागलाई संशोधन गर्ने गरी ८ क्षेत्रका २९ विषयमा तालिम दिइने आयोजक संस्थाका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए ।
मेलामा अटोमोबाईल,निर्माण, आथित्यरसत्कार, इलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक, स्वास्थ्य तथा सौन्दर्य, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधामा सीप सिकाइने छ । स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न गरिएकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धन्यवाद दिएका छन् । आयोजना गरिएको मेलाले युवा उद्यमी बढाउन र सीपयुक्त युवा निर्माणमा योगदान पुग्ने विश्वास मन्त्री भण्डारीको छ ।