कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ विचवा निवासी सुरज राना अहिले श्रीलंकामा भिक्षु (भन्ते) विजय वन्सका रुपमा बौद्ध दर्शन प्रचारमा समर्पित छन ।
सन् २००८ मा अध्ययनका लागि लुम्बिनी पठाइएका सुरज राना पछि बौद्ध शिक्षाको सिलसिलामा श्रीलंका पुगेका थिए। हाल उनी श्रीलंकाको मयुरपादस्थित पिरिवेन विहारमा अध्ययन तथा साधनामा लागिपरेका छन ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा र पशु अधिकारकर्मी हरि प्रसाद जोशीले हालै भिक्षु वन्ससँग विहारमै भेट गरी बौद्ध दर्शन, अध्ययन तथा सामाजिक चेतनाका विविध विषयमा गहन छलफल गरेका छन ।
भिक्षु वन्सले इच्छुक विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाउन सकिने जानकारीसमेत दिएका छन्। सात्विक खानाको साथमा आजको दिन विहारमै बितेको मेयर ओझाले बताएका छन ।
यसअघि श्रीलंकास्थित नेपाली राजदूतावासमार्फत कृष्णपुर नगरपालिकाका एक भिक्षु श्रीलंकामा रहेका छन् भन्ने जानकारी भएपछि सम्पर्क स्थापित भएको थियो। मेयर ओझाले भिक्षु वन्सप्रति सत्कार, सम्मान र हार्दिक नमन व्यक्त गरेका छन ।
भिक्षु विजय वन्सको जीवनयात्रा अध्ययन, साधना र सेवामा समर्पित रहेको बताइएको छ ।