धनगढी, कैलाली — “स्वस्थ मन, सुखी जीवन” भन्ने मूल नाराका साथ धनगढी उपमहानगरपालिका–१२ मा मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले परामर्श तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

२०८२ साल जेठ १९ गते सोमबारका दिन सम्पन्न उक्त कार्यक्रम “कोशिश, कैलाली धनगढी” को आयोजनामा तथा धनगढी उपमहानगरपालिका वडा नं. १२ को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा मानसिक समस्या सम्बन्धी परामर्श प्रदान गर्नुका साथै नागरिकहरूमा मानसिक स्वास्थ्यप्रति चेतना फैलाउने प्रयास गरिएको थियो। मानसिक स्वास्थ्य उपचार, परामर्श तथा सामाजिक समावेशीताका पक्षमा जानकारीमूलक सन्देशहरू प्रस्तुत गरिएका हुन ।




कार्यक्रममा मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयमा जनस्तरसम्म जानकारी पुर्याउने यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। हामीले यस वडामा सुशासनमा जोड दिइरहेका छौ । वडाबासी र जनप्रतिनिधिको सहकार्य भयो भने ठूलो समस्यालाई पनि समाधान छिटो गर्न सक्छौ भनेर धनगढी-१२ का वडा अध्यक्ष शेर बहादुर महराले मन्तव्य व्यक्त गरे ।

मनोसामाजिक समस्या पहिचान, समाधान र तनाव व्यवस्थापन सम्बन्धी प्रस्तुति पशुपति खातीले दिएकी थिइन्। उनले दैनिक जीवनमा देखा पर्ने मानसिक समस्या, त्यसको समाधानका उपाय तथा तनाव व्यवस्थापनका सरल तर प्रभावकारी तरिकाहरूबारे जानकारी दिइन्।


मनोसामाजिक पक्षमा निर्मला लेखकले विशेष प्रस्तुति दिँदै सामाजिक व्यवहार, भावनात्मक अवस्था र समुदायको भूमिका सम्बन्धमा सहभागीहरूलाई जानकारी दिएकी थिइन्।
अपाङ्गता सम्बन्धी विषयमा चन्द्रकान्त पनेरुले प्रस्तुति राख्दै अपाङ्गता भएका व्यक्तिहरूको मनोसामाजिक अवस्थाबारे प्रकाश पारेका थिए। उनले समावेशी समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा वडा सदस्य इन्द्रा माया गुरुङ , काले रावत , वडा सचिव नर वड , स्वायमसेवीका , स्थानीय वडाबासीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सहभागीहरूले मानसिक समस्याहरू खुलस्त रूपमा प्रस्तुत गर्ने अवसर पाउनुका साथै आवश्यक परामर्श पनि प्राप्त गरेका थिए। आयोजक संस्थाका अनुसार, कार्यक्रममा सहभागीहरुले मनोसामाजिक अपाङ्गताको पहिचान गरी यस संस्थालाई जानकारी गराउन अनुरोध गरेका हुन । सामाजिक पूर्वाग्रह हटाउने, मानसिक स्वास्थ्यप्रति समुदायमा बुझाइ अभिवृद्धि गर्ने र आवश्यक सेवा लिन हिच्किचाउने प्रवृत्तिमा कमी ल्याउने विश्वास लिएको संस्थाका अध्यक्ष मनोज चौधरीले बताए।