धनगढी, कैलाली – अटिजम भएका व्यक्तिहरूको अधिकार र समावेशीतालाई सुनिश्चित गर्नका लागि सुदुरपश्चिम प्रदेशको धनगढी स्थित रुबस होटेलमा “अटिजम व्यक्तिका लागि समावेशी नीति, कार्यक्रम र बजेटका सन्दर्भमा अन्तर मन्त्रालयीय संवाद” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

डिसएबिलिटी राइट्स फन्डको सहयोगमा, राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल (NACCSN) को आयोजनामा सम्पन्न उक्त संवाद कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयबीच आपसी समन्वय र नीति निर्माणमा स्पष्टता ल्याउने उद्देश्य रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्का थिए भने, NACCSN का अध्यक्ष रमेश कुमार बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख सचिव डा. कमल पोखरेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, विभिन्न मन्त्रालयका सचिवहरू, अपांगता समावेशी विज्ञ, UN एजेन्सीहरू, अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाहरू (INGO/NGO), नेपाल अपांग महासंघ (NFDN) लगायतका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको प्रारम्भमा अपांगता समावेशी विज्ञ कृष्ण गहतराजले अटिजमसम्बन्धी नीतिगत बहसको औचित्य र वर्तमान अवस्थामाथि प्रकाश पार्नुभयो। त्यसपछिका सत्रहरूमा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र प्रमुख सचिव डा. हेमराज रेग्मीले अटिजम तथा अपांगता सम्बन्धी नीति, कार्यक्रम र बजेटको प्रस्तुतीकरण गर्नुभयो।
खुला छलफल सत्रमा अटिजम भएका बालबालिकाका अभिभावकहरूले आफ्नो पीडा, सामाजिक उपेक्षा, शैक्षिक तथा चिकित्सकीय पहुँचमा भोगेका कठिनाइहरूबारे खुलस्त राखेका थिए। उनीहरूले राज्यले प्रभावकारी सेवा र समावेशी अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।

प्रमुख अतिथि माननीय मेघराज खड्काले मन्तव्य दिँदै भन्नुभयो, “अटिजम तथा अपांगता भएका व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गर्नु प्रदेश सरकारको सर्वोच्च प्राथमिकता हो। यस किसिमका संवाद कार्यक्रमले नीति निर्माणकर्तालाई यथार्थ बुझ्न सघाउ पुर्याउँछ।” उहाँले समावेशी शिक्षा, स्वास्थ्य सेवा, रोजगारी तथा सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमको समापनमा सहभागी सरोकारवालाहरूले भविष्यमा अपांगता समावेशी नीति निर्माणका क्रममा यस्ता संवाद र सहकार्यलाई नियमित र संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन ।