कञ्चनपुर, असार ७ — लालझाडी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुक्रबार बसेको अधिवेशनको पहिलो बैठकमा विपद् व्यवस्थापनदेखि सामाजिक विकास, पूर्वाधार निर्माण, वित्तीय पारदर्शिता र सुशासनसम्मका विविध विषयमा विस्तृत छलफल भएको थियो।

विपद् व्यवस्थापनमा विशेष प्राथमिकता
गाउँपालिकाले विपद् व्यवस्थापनलाई सशक्त बनाउनका लागि स्थानीय विपद् कोषलाई निरन्तरता दिने, जंगली जनावर तथा छाडा पशुबाट हुने बाली क्षति न्यूनिकरण गर्न मेसवायर जडान गर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षित स्थल तोक्ने र दमकल सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै, विपद् स्वयमसेवकहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ।
सेवा प्रवाह र सामाजिक सुरक्षामा नागरिकमुखी कार्यक्रम
नागरिकमैत्री सेवा सुनिश्चित गर्न ‘हेल्प डेस्क’, ‘गुनासो पेटिका’ र ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। रोजगार सेवा केन्द्रमार्फत श्रमिक परिचालन तथा बेरोजगार युवालाई जीवनोपयोगी सीप विकास तालिम प्रदान गरिनेछ। वैदेशिक रोजगारीमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिनुका साथै अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना समेत प्रस्तुत गरिएको छ।

पूर्वाधार र वातावरणमैत्री विकास योजनाहरू
पूर्वाधार विकास अन्तर्गत सडक, पुल, भवन निर्माण तथा स्तरोन्नति कार्यक्रमलाई तीव्रता दिइनेछ। चक्रपथ निर्माण, प्रशासनिक भवन, र आधुनिक सिँचाइ प्रणाली (विद्युतीय तथा सौर्य ऊर्जामा आधारित) विस्तार गरिनेछ। साथै, नदी तटीय क्षेत्रमा तटबन्ध निर्माण एवं मर्मतसम्भार तथा वृक्षारोपण अभियानलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा र सामाजिक विकास
गाउँपालिकाले निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्वास्थ्य पूर्वाधार तथा औषधिको सहज उपलब्धता सुनिश्चित गर्ने, सुत्केरी सेवा, खोप अभियान तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रावधान समावेश गरेको छ।
वित्तीय अनुशासन र सुशासनको बलियो प्रतिबद्धता
गाउँपालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने, सार्वजनिक खर्चलाई पारदर्शी र मितव्ययी बनाउने, कर संकलन प्रणालीलाई चुस्तदुरुस्त बनाउँदै करदाता–मैत्री नीति लागू गर्ने योजना अघि सारेको छ। साथै, सार्वजनिक सुनुवाइ, गुनासो व्यवस्थापन र नागरिक सन्तुष्टि सर्वेक्षणसमेत सञ्चालन गरिनेछ।
सूचना प्रविधिमा स्मार्ट अप्रोच
डिजिटल इ-गभर्नेन्सलाई प्राथमिकतामा राख्दै सरकारी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्ने, सार्वजनिक स्थानहरूमा सिसिटिभी जडान गर्ने, र इ-हाजिरी प्रणाली लागू गर्ने योजना समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

सुरक्षा व्यवस्थापन र स्थायित्व
गाउँपालिकाले आपराधिक गतिविधिको नियन्त्रण गर्न सुरक्षा निकायसँग समन्वय गर्दै वडा नं. ६ स्थित चान्देव बजार क्षेत्रमा अस्थायी प्रहरी पोस्ट स्थापना गर्ने निर्णय गरेको छ।
सभाको अन्त्यमा सभाध्यक्ष रानााले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै, आगामी असार ९ गते बिहान ११ बजे दोस्रो बैठक बस्ने जानकारी गराएका थिए।
गाउँसभा सचिवालयमार्फत ‘गाउँसभा सञ्चालन ऐन’ अनुसार सभा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो।