धनगढी, कैलाली। असार १५ गतेदेखि निरन्तर परेको अविरल वर्षाले कैलालीको धनगढी क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाएको छ। लगातार झरी परिरहेकाले बस्तीहरू जलमग्न भएका छन् भने धेरै घर–आँगनमा पानी पसेर स्थानीय बासिन्दा समस्यामा परेका छन्।


स्थानीयवासीका अनुसार बिहानदेखि नै वर्षा रोकिएको छैन। यसले दैनिक जीवनलाई ठप्प पारेको छ। अधिकांश स्थानमा लुगा, भाँडा, अन्नलगायत सामग्री भिजेका छन्। कतिपय घरमा त भान्सा कोठासम्म पानी भरिएको छ।


“घरको आँगन पूरै पानीले ढाकिएको छ। भित्र राखेको धान, गहुँ र लुगा सबै भिजेका छन्,” धनगढी–७ का स्थानीय गणेश बि.क.ले गुनासो गरे।


त्यस्तै, धनगढी–७ कै पदम बहादुर बि.क.ले भने, “साना बालबालिका र वृद्धवृद्धालाई बढी समस्या छ। मेरी आमा अपाङ्ग हुनुहुन्छ। घरमै पानी पसेर झन् ठूलो समस्या भएको छ।”

धनगढी लगायत कैलालीका विभिन्न क्षेत्रमा वर्षाका कारण जनजीवन कष्टकर बनेको छ। वर्षेनी पानीको निकासको व्यवस्था प्रभावकारी नभएको भन्दै स्थानीयहरूले समस्या दोहोरिने गुनासो रहेको छ । धनगढी -७ मा डुबान हुने अवस्था देखिएपछि पानी निकासका लागि स्थानीय हरु आफै पनि खटेका हुन ।