थारु चलचित्र उद्योगमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अभिनेता संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कला, साहित्य र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएकोमा २१२ औं आदिकवि भानु जयन्ती तथा साहित्यिक–सांस्कृतिक उत्सवमा उहाँ सो पुरस्कार प्रदान गरिएको हो ।उनलाई नाट्य तथा चलचित्र विधा अन्तर्गत नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले थारु भाषा, कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा संगत थारुको विगत अढाई दशकदेखिको निरन्तर सक्रिय योगदानलाई उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ ।संगत थारुले थारु समाजका मौलिक कथा, संघर्ष र पहिचानलाई विभिन्न नाटक, चलचित्र, गीत तथा मञ्चनमार्फत जनचेतना फैलाउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन।
पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले संगत थारुलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य, कला, संगीत, नाटक, चलचित्र लगायत विविध विधामा क्रियाशील प्रतिभाहरूलाई प्रादेशिक स्तरमा सम्मान र प्रोत्साहन गर्दै आएको छ ।