कैलालीको गोदावरी नगरपालिका–१ पृथ्वीनगर टोल अत्तरियामा रहेको शिव मन्दिर परिसरमा वृक्षारोपणसँगै सयपत्री फूलका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ। नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चितवनबाट ल्याइएका उन्नत जातका पाँच हजारभन्दा बढी सयपत्री फूलका बिरुवा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै रोपण कार्य सुरु गरिएको हो।
यही अवसरमा अत्तरिया–धनगढी ६ लेन सडक खण्डको गोदावरी नगरपालिकाभित्र पर्ने मिडियन क्षेत्रमा समेत सयपत्रीका हजारौं बिरुवा रोपिएको छ। नगर प्रमुख भट्ट, कर्मचारी र कामदार टोलीले संयुक्त रूपमा फूल रोपण कार्य सम्पन्न गरेका हुन्।


कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले भने, “गोदावरी नगरलाई हरित, स्वच्छ र धार्मिक पर्यटकीय गन्तव्य बनाउने हाम्रो दीर्घकालीन योजना हो। प्रमुख चोक, मन्दिर, सडक मिडियन र सार्वजनिक स्थलहरूलाई हरियाली र सौन्दर्ययुक्त बनाउन हामी निरन्तर लागिपरेका छौं।”
उनले दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य सजावटी सामग्रीको सट्टा स्वदेशमै उत्पादित प्राकृतिक फूलको प्रयोगमा जोड दिने नगरको प्राथमिकता रहेको बताए। “प्लास्टिक प्रयोग घटाउने, वातावरणमैत्री उपायहरू अपनाउने र नगरवासीको सहभागितामा स्वच्छ, हरित र आत्मनिर्भर गोदावरी निर्माण हाम्रो लक्ष्य हो,” भट्टले भने।
नेपाली कांग्रेसका युवा नेता हरी भट्टराईले चितवनबाट गुणस्तरीय र सस्तो फूलका बिरुवा ल्याइएको जानकारी दिँदै मठमन्दिर वरिपरि र फोक्सेडाँडालगायत स्थानमा पनि फूल रोप्ने योजना रहेको बताए।
उक्त अभियानले धार्मिक पर्यटनको प्रवर्द्धन, वातावरणीय संरक्षण र नगरको सौन्दर्य अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।