कञ्चनपुर, श्रावण ९ कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ स्थित गणेशपुर (बरैया) शिव मन्दिर परिसरमा निर्माण सम्पन्न भएको धर्मशालाको उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष उपभोक्ता समितिका अध्यक्ष अमर सिंह बडायक रहेका थिए भने प्रमुख अतिथि वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा सदस्यहरू बिन्द्रावती राना, कमान चौधरी, देशु चौधरी, तुलसी शर्मा, साथै नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं १ की महासमिति सदस्य राधिका जोशी, प्रविधिक राघव झा, श्रीपुर पौलाहा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष पुरन राना, नगर पधना तथा भलमन्सा समितिकी उपाध्यक्ष बिन्दु राना लगायत वडा बासिन्दाहरूको उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश श्रेष्ठले भने, “विकास र संरक्षणको जिम्मा केवल वडा कार्यालयको मात्र होइन, वडाबासी र जनप्रतिनिधिको मिलेर गर्ने साझा प्रयास हो। संरक्षण व्यवस्थापन समितिको मात्रै काम भनेर पन्छिनु हुँदैन, सबैले आ–आफ्नो भूमिका निभाउनु जरुरी छ।”

त्यसैगरी, राधिका जोशीले आफ्नो मन्तव्यमा भनिन्, “धार्मिक कार्यक्रम र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन जरुरी छ। सबैले आ–आफ्नो संस्कृतिको जगेर्ना गर्नुपर्छ।”

कार्यक्रममा वडा प्रविधिक राघव झाले वडा लगानीमा सम्पन्न धर्मशालाको प्रविधिक पक्ष राम्रोसँग सम्पन्न गरिएको जानकारी दिए।
कार्यक्रमको सञ्चालन अन्तराम रानाले र स्वागत मन्तव्य पुरन रानाले प्रस्तुत गरेका थिए। स्थानीयस्तरमा धार्मिक पर्यटन र सांस्कृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको उक्त धर्मशालाले आगन्तुक भक्तजन र स्थानीय बासिन्दालाई सुविधा पुर्याउने अपेक्षा गरिएको छ।