कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ स्थित बरैया गाउँमा तेस्रो रानाथारु तिज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम पधना लाले रानाको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिकाका उप–प्रमुख जोगराम चौधरी रहेका थिए भने विशिष्ट अतिथि पुनर्वास नगरपालिकाकी उप–प्रमुख भुलिया कुमारी राना थिइन्। साथै, कार्यक्रममा बेलौरी–८ का वडाध्यक्ष विश्राम राना, बेलौरी–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, दुबै वडाका वडा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, भलमन्सा पधनाहरू तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप- प्रमुख जोगराम चौधरीले भने २०७४ सालदेखि निर्वाचित जनप्रतिनिधिहरुले संस्कृति संरक्षणका लागि अघि सारेका प्रयासहरूलाई स्मरण गर्दै भने, “हामीले आफ्नो संस्कृति जगेर्ना गर्नुका साथै शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा पनि ध्यान दिनुपर्छ। बालबालिकाको गतिविधिमा अभिभावकले निगरानी गर्न अत्यावश्यक छ।”

त्यसैगरी, पुनर्वास नगरपालिकाकी उप–प्रमुख भुलिया कुमारी रानाले तिज पर्वको महत्त्वबारे चर्चा गर्दै युवा पुस्ता लागू औषधको दलदलमा फसेकोप्रति चिन्ता व्यक्त गरिन्। उनले भनिन्, “हामी अभिभावक स्वयं सचेत नभएसम्म लागू औषध न्यूनीकरण सम्भव छैन। संस्कृति जोगाउनेसँगै सामाजिक विकृति नियन्त्रणमा सामूहिक भूमिका जरुरी छ।”

कार्यक्रममा भलमन्सा हरिचन्द्र रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन अन्तराम रानाले गरेका थिए। यस कार्यक्रममार्फत रानाथारु समुदायको सांस्कृतिक सम्पदा संरक्षण र सामाजिक चेतना प्रवर्द्धनको सन्देश प्रवाह गरिएको थियो।