काठमाडौँमा रानाथारु समुदायको ‘तीजको शुभकामना आदानप्रदान तथा झुड्की छिरान’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौँको नागार्जुन कलेजमा धुमधामका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य डा. कौसिला रिसाल प्रमुख अतिथि रहेकी थिइन् । त्यस्तै, कार्यक्रममा रानाथारु समाजका केन्द्रीय कार्यसमिति अध्यक्ष कमल सि राना, नेपाल रानाथारु समाजका पूर्वमहासचिव राजकुमार राना, अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष अञ्जना सिवकोटी, मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरुले रानाथारु समुदायलाई तीजको शुभकामना दिएका थिए । त्यस्तै, उनीहरुले रानाथारु समुदायको संस्कृति, भेषभुषा मौलिक र छुट्टै भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, औपचारिक कार्यक्रमको समापनपछि बागमती नदीमा झुड्की छिरान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
अन्य समुदाय भन्दा रानाथारु समुदायमा तीजमा फरक तरिकाले मनाइन्छ । रानाथारु महिलाहरुले आफ्ना दाजुभाइ तथा भतिजाहरुको सुस्वास्थ्य एवम् दिर्घायुका लागि ब्रत बस्ने चलन रहेको छ ।