कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका हुँदै लालझाडी गाउँपालिका हुँदै देखतभुली सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ । करिब ३ करोड रुपैयाँ लागतमा निर्माण हुने झण्डै ३ किलोमिटर लम्बाइको सो सडकको सर्भे सुदुरपश्चिम प्रदेशका प्राविधिक टोलीले सम्पन्न गरेको छ।

सर्भे अनुसार पुनर्वास र बेलौरी नगरपालिकाको क्षेत्रमा करिब ८०० मिटर र बाँकी सडक लालझाडी गाउँपालिकाको क्षेत्रमा कालोपत्रे हुने भएको छ ।
सडक कालोपत्रेको लागि आवश्यक बजेट कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय तारा लामा तामाङको पहलमा विनियोजन गरिएको हो । “सर्भे सकिएको छ, अब छिट्टै कालोपत्रे कार्य सुरु हुनेछ भन्ने अपेक्षा छ,” लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।

उनका अनुसार सडक बनेपछि लालझाडी गाउँपालिका मात्र नभई आसपासका पालिकासँगै सुदूरपश्चिम प्रदेशसम्म आवतजावत सहज र छिटो हुने छ ।