आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरण शुक्रबार समाप्त हुँदैछ। नेपालले आज जापानसँग समूह ‘बी’को शीर्ष स्थानका लागि निर्णायक खेल खेल्दैछ। खेल ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ।
कुवेतमाथि ५८ रनको जितपछि नेपाल सुपर सिक्समा पुगिसकेको छ। कुशल भुर्तेलको ६६ रन, सन्दीप लामिछाने र ललितनारायण राजवंशीका दुई–दुई विकेटले टोलीलाई आत्मविश्वास दिलाएका छन्।
जापानले पनि कुवेतमाथि ५ विकेटको जित निकालेपछि ऊ पनि सुपर सिक्समा पुगेको छ। आजको खेलले समूह विजेता तय गर्नेछ र नेपाल–जापान पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय मैदानमा भिड्दैछन्। यो खेल नेपालका लागि नयाँ चुनौती र आफ्नो प्रभुत्व देखाउने अवसर दुवै हो।