जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सो घटनामा संलग्न भएको आरोपमा शिक्षा तथा समन्वय इकाइ डोटीमा कार्यरत विद्यालय निरीक्षक (विनि) गणेश रावल लाई पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानमा रावल र मृतक खड्काबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको र प्रेमसम्बन्ध विकसित भएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रावलले मानसिक तनाव दिएको कारण खड्का आत्महत्यामा उत्रिएको प्रारम्भिक अनुमान गरिएको छ।
खड्काको शव सोमबार दिउँसो घरबाट करिब ७०० मिटर टाढा झुन्डिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले खड्काको कोठाबाट बरामद सुसाइड नोटको आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
सुसाइड नोटमा खड्काले लेखेकी छन् — “अर्काको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सकिएन।”
उनले आमाबुबाको इज्जतका लागि यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन्।
मृतक खड्का बाजुराको भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका थिइन्। दुई वर्षअघि शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति पाएकी खड्का परिवारको जेठो सन्तान थिइन्।
उनका भाइ प्रदीप खड्काका अनुसार दिदी नै परिवारको मुख्य अार्थिक आधार थिइन्।
“दिदीकै आम्दानीमा घर चल्थ्यो,” उनले भने, “हामीले न्याय चाहेका छौँ।”
डीएसपी पालका अनुसार रावलले यसअघि नै विवाह गरेका र सन्तानसहित भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।