कञ्चनपुरको पुनर्वास ११ अमर बस्तीमा रहेको अमर गोकुल सामुदायिक वन उपभोत्ता समुहको १८ औं साधारण सभा सम्पन्न भएको छ । वनका अध्यक्ष मान बहादुर थापाको अध्यक्षता र पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सामुदायिक वनले साधारण सभा मार्फत आर्थिक बर्ष २०८१/८२ मा झण्डै ३१ लाख बराबरको आयब्याय प्रस्तुत गरेको थियो । वनले ३० लाख ९६ हजार ५ सय ७० रुपैया बराबरको आयब्यय प्रस्तुत गरेको श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मान बहादुर थापाले जानकारी दिनुभयो । समुहले आर्थिक बर्ष २०८२/८३ मा ६० लाख ८० हजार ४ सय ७३ रुपैयाको आनुमानित आयव्य प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै समूहको साधारण सभा चाडपर्व जस्तै रहेको बताउनुभयो । श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूह यस क्षेत्रकै सबैभन्दा पुरानो सामुदायिक वन रहेको बताउँदै पहिलेदेखि नै व्यवस्थित र विधिपूर्वक तरिकाले अगाडि बढिरहेको जानकारी दिनुभयो ।
समुदायिक वन आफैमा पनि एउटा चुनौती र अवसरको विषय भएको बताउँदै उहाँले उपभोक्ता सदस्यहरूको मागमा आधारित रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयले पनि वनप्रति अपनत्वको भावना राख्नुपर्ने बताउँदै समूहका सदस्यहरूले मात्रै वन संरक्षण गर्न नसक्ने उहाँले बताउनुभयो । अहिलेको अवस्थामा अमर गोकुल समुदायक वन अन्य सामुदायिक वनहरूभन्दा एक तह माथि रहेको बताउनुभयो ।

साधारण सभामा ६८ वर्ष उमेरमाथिका झण्डै ५० जना वृद्धवृद्धाहरूलाई सम्मान समेत गरिएको थियो । साधारण सभामा कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रतिनिधि, वन सरक्षणकर्मी, प्रहरी, पत्रकार, उपभोक्ता समुह, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समूहका सचिव सोमबहादुर बानियाले गर्नुभएको थियो।