कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाले वर्षौँदेखि प्रतीक्षा गरेकाे सुरक्षित मातृत्व सेवा अब आफ्नै वडामा उपलब्ध भएको छ। सुत्केरी सेवाका लागि धनगढी वा नौरङ्गा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै पुनर्बास–११ मा स्थायी बर्थिङ्ग सेन्टर औपचारिक रूपमा सञ्चालनमा गरिएको छ । सोमबार मंसिर १ गते पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, उपप्रमुख भुलिया कुमारी राना, पुनर्वास ११ का वडा अध्यक्ष तुलसी अर्याल लगायतको उपस्थितिमा बर्थिङ सेन्टर सेवा उद्घाटन गरिएको हो।
विगतमा धेरै महिलाहरूले घरमै प्रसूति गराउनु परेको तथा केहीले अस्पताल जाँदै गर्दा बाटोमै बच्चा जन्माउनु परेका अनुभव स्मरण गर्दै स्थानीयवासीहरूले अब सुरक्षित प्रसूति सेवा गाउँघरमै उपलब्ध हुन थालेपछि खुसी व्यक्त गरेका छन् ।स्थानीयवासीले बर्थिङ्ग सेन्टर सञ्चालन सँगै आपतकालीन प्रसूति सेवा सहज हुने, उपचार समयमै हुने र मातृ–शिशु मृत्यु दर घट्ने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रममा उपस्थित महिला स्वास्थ्य स्वयंसेविकाहरूले बर्थिङ्ग सेन्टर सञ्चालनपछि समुदायमा प्रसूति तथा मातृ–शिशु स्वास्थ्य सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जनप्रतिनिधिहरूले धेरै पहिले देखेको सपना आज पूरा भएको बताउनुभयो । आफू नगर प्रमुखमा निर्वाचित भएको पहिलो दिनदेखि नै यो सेवा सुरु गर्ने पहल गरेको उहाँले बताउनुभयो । तर केही प्राविधिक र प्रशासनिक कारणले ढिलाइ भए पनि अब सेवा सञ्चालनमा आइसकेको बताउँदै उहाँले सबै समुदायलाई गाउँघरमै सेवा लिन उहाँले आग्रह गर्नुभयो ।
पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले बर्थिङ्ग सेन्टर सञ्चालनले वडा नम्बर १० र ११ का दिदी बहिनीलाई ठूलो राहत हुने बताउनुभयो । बर्थिङ सेन्टरका लागि चौबीसै घण्टा सेवा उपलब्ध हुने जानकारी दिँदै उहाँले आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो ।


बर्थिङ सेन्टर उद्घाटनको अघिल्लो दिन राति नै सुस्वास्थ्य संस्थामा एउटा डेलिभरी केस समेत आएको थियो । सफल डेलिभरी सँगै सो राती ड्युटीमा खटेर काम गर्नुहुने सिनियर अनमी चन्द्राकुमारी न्यौपानेलाई पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले माला लगाएर सम्मान गर्नुभएको थियो । साथै सो बर्थिङ सेन्टरमा जन्मिएको पहिलो बच्चालाई पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले जन्मदर्ता उपलब्ध गराउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष लगायत स्वास्थ्य शाखा प्रमुख राम ब. धामी, रेडक्रस शाखा अध्यक्ष कृष्ण तमाङ, समाजसेवी भरत बिष्ट, धर्म जोशीलगायतको सहभागिता थियो । यस्तै महिला स्वास्थ्य स्वयंसेविका स्थानीय पत्रकारको समेत उपस्थिति रहेको थियो ।