चिसो मौसम बढेसँगै विद्यार्थीहरूलाई राहत पुर्याउने उद्देश्यले खान पुगोस्, लाउन पुगोस् अभियान नेपालले डोटी जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
अभियानअन्तर्गत बडीकेदार गाउँपालिका–५ का केदारेश्वर माध्यमिक विद्यालय रन्तोला, गौरीशंकर आधारभूत विद्यालय धमीगाउँ, बुढाकोट आधारभूत विद्यालय बुढाकोट र बयालगाउँ आधारभूत विद्यालय बयालगाउँमा अध्ययनरत १५० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराइएको हो।
सामाजिक सेवामा सक्रिय उक्त अभियानले हरेक वर्षजस्तै यस वर्ष पनि विपन्न तथा असहाय समुदायलाई लक्षित गर्दै राहत वितरण सुरु गरेको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिनुभयो। आफ्नै गाउँ–ठाउँमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
यस वर्ष चिसो अझै बढ्ने अनुमानका बीच असहाय परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत वितरण कार्यक्रमलाई चरणबद्ध रूपमा अन्य स्थानीय तह तथा दुर्गम बस्तीमा विस्तार गर्ने तयारी गरिएको अभियानले जनाएको छ।
बुढाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर कठायतले न्यानो पोसाक र शैक्षिक सामग्रीले बालबालिकालाई ठुलो राहत पुगेको बताउनुभयो। उहाँले खान पुगोस्, लाउन पुगोस् अभियान टिमलाई धन्यवाद दिँदै ग्रामीण भेगका विद्यालयहरूमा यस्ता कार्यक्रम अझै आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

