कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका-३, कमरी खैरिघाट निवासी हर किसन राना बेलौरी नगरपालिका-१०, शिवनगर क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै शंकास्पद र रहस्यमय अवस्थामा मोटरसाइकल सहित जलेर विभत्स रुपमा मृत फेला परेको घटना एक वर्ष भन्दा बढी समय बिति सक्दा समेत कुनै किसिमको अनुसंधान गर्दा पनि दोषी फेला परेको छैन ।
अझै पनि पीडित परिवारले बुवाको आत्मशान्तिका लागि सत्य–तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरि रहेका छन्।
सत्य तथ्य के हो ? त्यो छिट्टै सार्वजनिक होस्, दोषी उम्कन नपाओस् र पीडित परिवारले न्याय पाओस् भनेर दबाब दिन नेपाल रानाथारु समाजले बिरोध र्याली प्रदर्शन गर्ने प्रेस विज्ञप्ति मार्फत जानकारी गरेको छ ।
प्रेस विज्ञप्ति मा के छ ?
कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका-३, कमरी खैरिघाट निवासी हर किसन राना बेलौरी नगरपालिका-१०, शिवनगर क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै शंकास्पद र रहस्यमय अवस्थामा मोटरसाइकल सहित जलेर विभत्स रुपमा मृत फेला परेको घटना एक वर्ष भन्दा बढी समय बिति सक्दा समेत कुनै किसिमको अनुसंधान उचित तरिकाले हुन सकेको छैन।पिडित परिवार द्वारा जिल्ला प्रहरी कार्यालयमा पुनः जाहेरी दर्ता गरे पश्चात आरोपित बेलडाडी गाउँपालिकाकि उपाध्यक्ष शान्ती नाथ पक्राउ परेर २१ दिनमा हिरासत मुक्त हुनु तर सत्यतथ्य छानबिन नहुँदा जनसमुदाय थप आक्रोसित बनेको छ। राज्यसत्ताको चरम दुरुपयोग गर्दै स्थानीय प्रहरी प्रशासनले घटनाका सत्यतथ्यका पाटाहरु कुण्ठित गराउने भुमिका खेलेको देखिन्छ। न्यायिक ढंग बाट पिडित परिवारलाई न्याय दिनका लागी उच्चस्तरीय छानबिन गरि घटनाको यथार्थ आओस, हत्यारा दोषीलाई कानुनी कठघरामा ल्याइ कडा भन्दा कडा कारबाही होस र हरकिशन रानालाई न्याय मिलोस भनी जोडदार माग गर्दछौ। घटनाको यथार्थ परक तरिकाले राज्यसंयन्त्र बाट छानबिन होस भनी यो प्रेस विज्ञप्ती मार्फत जोडदार माग राख्दछौ। साथै पिडित परिबारलाई समुदायको तर्फबाट लोकतान्त्रिक व्यवस्थामा मानवअधिकारको उचित अनुभूती दिलाउनको निम्ती तपशिल बमोजिमको शान्तिपुर्ण बिरोध प्रदर्शन कार्यक्रमको घोषणा गर्दछौ। यसमा सहभागी भै सहयोग गरिदिन र ऐक्यबद्धता जनाइदिन नागरिक समाज, संघसंस्था , संचारकर्मी , मानवअधिकारकर्मी र न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौ। राज्यको तर्फबाट हुने कुनै किसिमको दमन कार्य स्विकार्य हुने छैन, त्यसबाट उत्पन्न सबै खाले परिस्थतीको जिम्मेबारी राज्य आफैले लिनु पर्ने छ।
हरकिशन रानाको न्यायका लागी विरोध प्रदर्शन कार्यक्रम
मितिः २०८३।०१।२६ गते शनिबार
समयः ११ बजे
स्थानः महेन्द्रनगर, कंचनपुर, ट्राफिक चोक देखी मदन चोक (कोणसभा)
