धनगढी, असाेज ३
कैलालीको धनगढीमा आयोजना हुने टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको ट्रफी शनिबार सार्वजनिक गरिएको छ।
कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको ट्रफी फाप्ला क्रिकेट मैदानमै सार्वजनिक गरिएको हो।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी हुने १६ वटै टोलीका कप्तानको सहभागिता रहेको थियो। कार्यक्रममा आयोजक कैलाली जिल्ला क्रिकेट सङ्घका पदाधिकारी तथा विभिन्न टोलीका प्रतिनिधिको समेत उपस्थिति थियो। प्रतियोगिता असोज ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाउँदैछन्।
प्रतियोगितामा चैतन्य पाठशाला, केडीसी ट्रेनिङ सेन्टर, धनगढी स्पोट्र्स क्लब, लम्कीचुहा नगरपालिका, धनगढी योद्धा, थन्डर्स, घोडाघोडी क्रिकेट एकेडेमी, बझाङ जिल्ला क्रिकेट एसोसिएसन, घटनाल लायन्स श्रीनगर युथ क्लब, धनगढी क्रिकेट एकेडेमी क्लब, सुप होस्टेल, एसपीए कलेज क्लब, सत्यवती एकेडेमी ‘ए’, एरोस्टो इङ्लिस हाइस्कुल, एफवाईसी डडेल्धुरा र सत्यवती एकेडेमी ‘बी’ सहभागी हुँदैछन्।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
कैलाली जिल्ला क्रिकेट सङ्घले आफ्नो वार्षिक क्यालेन्डरअनुसार पहिलोपटक फास्ट टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आयोजना गर्न लागेको हो। छोटो फर्म्याटको क्रिकेटमार्फत खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै धनगढीमा क्रिकेटको आकर्षण थप बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए।
प्रतियोगितामा राष्ट्रियस्तरमा खेलिसकेका खेलाडीदेखि उदाउँदै गरेका जुनियर खेलाडीसमेत सहभागी हुनेछन्। सिनियर र जुनियर खेलाडीले एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्दा नयाँ खेलाडीले अनुभवी खेलाडीबाट सिक्ने अवसर पाउने आयोजकको अपेक्षा छ।
प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानको ग्रास पिच तयारीको काम पुरा भएको छ।
प्रतियोगिताका खेल टी–१० फर्म्याटमा सञ्चालन हुने भएकाले छोटो समयमै खेल सम्पन्न हुने र दर्शकका लागि रोमाञ्चक हुने आयोजकको अपेक्षा छ।