जिल्ला प्रशासन कार्यालय कैलालीले उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना जारी गरेको छ ।
विशेष मौसम बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज ९ देखि ११ गते सम्म देशका विभिन्न स्थानहरूमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारी देखि अति भारी वर्षाको कारण बाढी, पहिरो तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो ।
जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको असोज ७ गतेको निर्णयअनुसार जारी उक्त सूचनामा असोज ९ देखि ११ गते सम्मको अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न सचेत गराइएको छ ।
यस्तै सम्बन्धित स्थानीय तह, तीन वटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्स्काभेटर लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि सूचनामा उल्लेख छ ।
स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्व सूचनारचेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नु पूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला र नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुन भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीद्वारा जारी सूचनामा नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान, सूचना र चेतावनी सम्बन्धी जानकारी लिइरहनु हुन अनुरोध गरिएको छ ।