कैलालीको चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहराको मृत्यु प्रकरणमा ७ जनालाई नियन्त्रणमा लिईएको छ । बोहरा जङ्गलको भिरमा मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार बोहरा घरबाट हराएपछि खोजी गर्ने क्रममा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जङ्गलको भिरबाट तल मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बोहरा सहित ८ जना सँगै बसेर मादक पदार्थ सेवन गरेको र सो क्रममा उनी सँगै रहेका व्यक्तिहरूले बोहरालाई ‘मार्दिन्छु’ भन्दै गरेको भिडियो समेत फेला परेको प्रहरीले जनाएको छ ।
उक्त भिडियो तथा घटनाको प्रारम्भिक विवरणका आधारमा शंका लागेका नामथर नखुलेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा मृतकको टोपी, मोबाइल फोन र चप्पलसमेत फेला परेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराको कमाण्डमा ¬९क्इऋइ० सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनाको कारण र मृत्युको वास्तविक अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवको परीक्षण तथा अन्य अनुसन्धान पछि घटनाबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ ।