संवाददाताधनगढी, असोज ११
सुदूरपश्चिममा असारमा ल्याउनु पर्ने बजेट असोज सकिन लाग्दा पनि ल्याउन सकिएको छैन।प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट अहिलेसम्म पनि नल्याएको हो।
सरकारले यसअघि भदौभित्रै नयाँ बजेट ल्याउने घोषणा गरेको थियो। भदौभित्र बजेट ल्याउन नसकेपछि असोजको दोस्रो सातासम्म बजेट ल्याउने लक्ष्य अघि सारिएको थियो। असोज दोस्रो साता नजिकिँदै गर्दा पनि बजेट निर्माण प्रक्रिया भने अझै पूरा भएको छैन।
अहिलेसम्म निर्माण प्रक्रिया पुरा नहुँदा असोज दोस्रो सातामा पनि बजेट आउने लक्षण नदेखिएको एक प्रदेश सरकारका एक कर्मचारीले जानकारी दिए।उनका अनुसार बजेट ल्याउने समय अझै लम्विन सक्छ।
प्रदेश सरकारले शुक्रवारदेखि बजेट लेखनको कामलाई तीव्रता दिने तयारी थालेको छ। बजेट निर्माणको काम छिटो टुंग्याउने विषयमा शुक्रवार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ।
मुख्यमन्त्री खगराज भट्टले मन्त्रालयहरूलाई बजेट लेखनको काम तीव्र बनाउन र आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए।बैठकमा बजेट निर्माणको बाँकी काम छिटो पूरा गर्ने, मन्त्रालयगत रूपमा आवश्यक प्रक्रिया अघि बढाउने र चालु आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिने विषयमा छलफल भएको थियो।
यसैबीच, शुक्रवार नै मुख्यमन्त्री भट्टको अध्यक्षतामा सर्वदलीय बैठक पनि बसेको छ। बैठकमा प्रदेशको बजेट निर्माणमा देखिएका समस्या, योजना छनोट र बजेट विनियोजनका विषयमा छलफल भयो।बैठकमा टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्ने विषयमा दलहरूबीच सहमति भएको छ।
प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ।प्रदेश सभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत ठूला, रणनीतिक र आवश्यकतामा आधारित हुनुपर्ने विषय बैठकमा उठेको थियो। सीमित स्रोतलाई धेरै योजनामा छर्दा विकासको प्रतिफल देखिन नसक्ने भएकाले प्राथमिकताका आयोजना छनोट गरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको हो।सर्वदलीय बैठकले बजेट निर्माणको कामलाई गति दिने र छिटो प्रदेश सभाबाट बजेट पारित गराउने निर्णय गरेको छ। लामो समयदेखि कायम बजेट शून्यताको अवस्था अन्त्य गर्न सरकार र राजनीतिक दलहरूबीच सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ।
बजेट आउने समय लम्बिँदा प्रदेशको विकास निर्माणदेखि सार्वजनिक सेवा र नियमित प्रशासनिक कामसमेत प्रभावित हुन थालेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल बजेट ल्याउन प्रदेश सरकारसँग आग्रह गरेको छ।कांग्रेसले असोज १५ गतेभित्र नयाँ बजेट प्रदेश सभामा ल्याउनुपर्ने माग गरेको छ। बजेटविहीन अवस्था लम्बिँदा प्रदेशका विकास आयोजना, सार्वजनिक सेवा प्रवाह र दैनिक प्रशासनिक काममा असर पर्ने भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बजेट शून्यताको असर प्रदेशका विभिन्न क्षेत्रमा परेको बताए।उनले यस्तो अवस्था थप लम्ब्याउन नहुने भन्दै तत्काल बजेट ल्याउन सरकारसँग आग्रह गरे।यसअघि तत्तकालिन मुख्यमन्त्री शाहले ल्याए बहुमत नपाएपछि बजेट पारित गर्न सकेनन्। नयाँ सरकारले अहिले बजेट ल्याउने तयारी गरेको छ।