कैलालीमा ख्रीष्टियनहरुले भेटी संकलन गरेर भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि ८ लाख १ हजार १५० रुपैयाँ सहयोग गरेका छन् । ख्रीष्टियन एकता समाज कैलालीले जिल्लाका १३ वटै पालिकामा रहेका मण्डलीहरूबाट स्वैच्छिक भेटी संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको हो ।
समाजले मंगलबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सहयोग गरेको जनाएको छ ।
समाजका अध्यक्ष ज्ञान बहादुर चौधरीले भोटेकोशी बाढी पीडितलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूहरूले सके सम्म भेटी संकलन गरेर सहयोग गरिएको बताए ।
गोदावरी इसाई समाजका अध्यक्ष डेबिट कैनीले एकता समाज मार्फत हाल ११ वटा पालिकामा समिति गठन गरिएको बताए । उनले प्रत्येक समितिबाट भेटी संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताए ।
जसअन्तर्गत धनगढी उपमहानगरपालिकाबाट १ लाख ७० हजार १०४, गोदावरी नगरपालिकाबाट १ लाख १९ हजार ७ सय, गौरीगंगा नगरपालिकाबाट २९ हजार ८ सय, घोडाघोडीबाट ५१ हजार ३९५, भजनीबाट ४७ हजार ३२०, लम्कीचुहाबाट ५० हजार, टीकापुरबाट २ लाख ४७ हजार ७६०, जोशीपुरबाट २१ हजार ७२७, बर्दगोरीयाबाट ५५ हजार २१५, जानकी गाउँपालिकाबाट १६ हजार २४८ र कैलारीबाट १८ हजार ४५ रुपैयाँ संकलन भएको बताए । उनले सबै रकम मण्डलीका सदस्यहरूबाट संकलन गरिएको बताए । उनले गोदावरीमा मात्रै ३६ वटा मण्डली रहेको बताए ।