उदियमान क्रिकेटर किरण कुमार ठगुन्ना चैतन्य पाठशालाको ब्रान्ड एम्बेस्डर बनेका छन् । शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने उद्देश्य सहित पाठशाला र ठगुन्नाबीच सहकार्य भएको हो ।
दायाँहाते ब्याटर तथा अफ–स्पिन बलर ठगुन्नाले ७३ खेलमा १ हजार ३११ रन र १७ विकेट आफ्नो नाममा बनाएका छन्। सुदूरपश्चिम, कञ्चनपुरलगायत विभिन्न टोलीबाट खेलिसकेका उनी पछिल्लो समय फ्रेन्चाइज क्रिकेटमा समेत सक्रिय छन्। एनपिएलको दोस्रो सिजनमा उनी पोखरा एभेन्जर्ससँग आबद्ध छन् ।
पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले स्थानीय प्रतिभालाई प्रोत्साहन र अवसर दिने उद्देश्यले ठगुन्नासँग सहकार्य गरिएको बताए । ठगुन्नाले भने आफ्नै शहरको शैक्षिक संस्थासँग जोडिन पाउँदा गर्व लागेको र यस सहकार्यले मैदानमा थप ऊर्जा तथा आत्मविश्वास दिने बताएका छन्।
सहकार्य अनुसार ठगुन्नाले आगामी राष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगितामा चैतन्य पाठशालाको प्रतिनिधित्व गर्नेछन् भने चैतन्यको लोगो अंकित ब्याट लिएर मैदानमा उत्रनेछन् ।