कञ्चनपुरको लालझाडीमा मंगलबारदेखि दुई दिवसीय खखडेहरा महोत्सव आयोजना गरिएको छ । लालझाडी गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा राना कला संस्कृति संरक्षण मञ्चले लालझाडी गाउँपालिका वडा नम्बर ३ नन्दगाउँमा महोत्सव आयोजना गरेको हो । “अगर भविष्य बनान हए इच्छा, तओ आजस् देओ गुणस्तरीय औ नैतिक शिक्षा” भन्ने मूल नाराका साथ दोस्रो खखडेहरा महोत्सव २०७९ आयोजना गरिएको हो ।
कञ्चनपुर र कैलाली जिल्लामा स्थायी बसोबास गर्ने रानाथारु समुदायले मंगलबार खखडेहरा पर्व मनाएका छन् । सोही अवसरमा आयोजित महोत्सवमा सहभागी प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, प्रदेश सभा सदस्य वीर बहादुर थापा, संविधान सभा सदस्य एवं नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम राना, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्ट लगायतले रानाथारु समुदायको कला, संस्कृति, भेषभूषाको चर्चा गर्दै अब लालझाडीलाई समृद्ध बनाउने सन्दर्भमा ऐक्यबद्धता जनाउनु भएको छ । शिक्षा लगायत विकासका पूर्वाधारहरूको यथोचित व्यवस्थापन गरी लालझाडीको विकासमा उहाँहरूले प्रतिबद्धता जनाउनु भएको छ । महोत्सवको माध्यमबाट कला, संस्कृतिको संरक्षण प्रवर्द्धनसँगै मनोरञ्जन प्रदान गर्नुका साथै विशेष गरी रानाथारु समुदायमा शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्न प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक अमर रानाको भनाइ छ ।
महोत्सव स्थलमा रानाथारु सांस्कृतिक झाँकी प्रदर्शन, विभिन्न कलाकारद्वारा नृत्य तथा गायन, सामाजिक कुरीति विरुद्ध जनचेतनामूलक नाटक प्रस्तुत, रानाथारु परिकार, स्थानीय व्यवसायका स्टल पसलहरू सञ्चालन गरिएका छन् । रानाथारु कला संस्कृतिको संरक्षण तथा खखडेहरा पर्व प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरणको सम्भावनाको खोजी, स्थानीय कलाकार र प्रतिभा पहिचानको अवसर, सांस्कृतिक पर्यटनको सम्भावनाको खोजी, शैक्षिक विकासका लागि नेतृत्वलाई ध्यानाकर्षण, रानाथारु समुदायको मौलिक पर्वमा मनोरञ्जन प्रदान, युवाहरूलाई सामाजिक सचेतना तथा मनोबलको विकास, शिक्षाको विकासका निम्ति व्याप्त विकृति विरुद्ध सचेतना फैलाई समुन्नत समुदायको खोजी आदि कार्यक्रमका अपेक्षित उपलब्धिहरू रहने आयोजकको दाबी छ । यसअघि खखडेहराकै पूर्व सन्ध्यामा सोमबार लालझाडीमा गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अमर रानाले जानकारी दिनुभयो ।